मुख्य सचिव पौडेल राजीनामाको मुडमा !
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
६ चैत, काठमाण्डौ । मुख्य सचिवको दौडमा आफैंसँग पराजीत दुई प्रतिस्पर्धीलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएपछि मुख्य सचिव लीलामणि पौडेल अप्ठेरोमा पर्नुभएको छ ।
गत साउनमा तत्कालीन मुख्य सचिव माधवप्रसाद घिमिरेको कार्यकाल सकिएपछि मुख्य सचिव बन्ने दौडमा रहेका शंकर कोइराला र उमाकान्त झाले रेग्मीको मन्त्रिपरिषद्मा महत्वपूर्ण मन्त्रालय पाएका छन् । कोइरालाले अर्थ, उद्योग र बाणिज्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने उमाकान्त झा उर्जा, बिज्ञान र सिचाईं मन्त्री बन्नुभएको छ ।
आफैंसँग प्रतिस्पर्धामा रहेर पराजित भएकाहरुलाई ‘मन्त्रीज्यू’ भन्दै अघिपछि गर्नुपर्ने अवस्था आएपछि मुख्यसचिव पौडेलले हीनताबोध महसुस गरेको र राजीनामा गर्ने मुडमा रहेको पौडेलनिकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो । आफुलाई अप्ठेरो पर्ने गरी कुनै पनि पूर्वप्रशासकलाई नल्याउने भद्र सहमति विपरीत दलहरुले आफुलाई अपमानित गर्न खोजेको भन्दै पौडेलले दलका नेतासँग असन्तुष्टिसमेत जनाउनुभएको बताइएको छ ।
‘आत्मसम्मान दाउमा राखेर आफ्नै प्रतिस्पर्धीलाई ज्यू, ज्यू भन्दै बस्न सक्दिँन’ पौडेलको भनाइ उद्धृत गर्दै उनका एक मित्रले अनलाइनखबरसँग भने-’एक दुई दिन परिस्थिति हेर्छु, त्यसपछि राजीनामा गर्नुपर्ला ।’
नेताहरुले भने पौडेललाई राजीनामा नगर्न र विकशित परिस्थीतिलाई स्वीकारेर काम गरिरहन सुझाव दिएका छन् ।
मुख्य सचिव बन्ने दौडमा हालका अर्थमन्त्री शंकर कोइराला पौडेलका सबैभन्दा कडा प्रतिस्पर्धी हुनुहुन्थ्यो । कोइराला खास गरी भारतीय र युरोपेली मुलुकले रुचाएका कांग्रेसनिकट उम्मेदवार मानिनुहुन्थ्यो । पौडेललाई मुख्य सचिव नबनाउन भारतीय र पश्चिमी मुलुकहरुले निकै जोड गरे पनि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको अडानमा मुख्य सचिव हुनुभएको थियो । कनिष्ठलाई मुख्य सचिव बनाइएको भन्दै त्यतिबेला निर्वाचन आयोगका सचिव रहेका कोइराला र उमाकान्त झासहित ६ जना सचिवले राजीनामा दिएका थिए । त्यसको जवाफमा पौडेलले ‘पराजीतहरुको स्याल हुइयाँ’ भन्दै टिप्पणी गर्नुभएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments