लोकमानको हबेलीमा ३ वटा गेट ! (तस्वीरसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
६ चैत, काठमाडौं । एकीकृत माओवादीको कोटामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाइन लागेका पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीको निजी निवास अख्तियारको कार्यालयभन्दा कम सुविधासम्पन्न छैन । पुरानो बानेश्वर हाइटमा अवस्थित हबेलीमा तीनवटा गेट रहेका छन् । प्रत्येक गेटबाट हेर्दा फरक घर देखिए पनि भित्र उही कार्कीको आलिशान बंगला ! बंगलाको धुरीमा रातो रंगको झण्डा पनि फहराएको छ । तर, त्यो झण्डा एमाओवादीको हँसिया हथौडा हो भनेर तपाईहरु भ्रममा चाँहि नपर्नुहोला, त्यो कुनै धार्मिक निशानी या हनुमानको प्रतीकमात्र हो ।
अख्तियारको जिम्मेवारी पाउन लागेका कार्कीले त्यति ठूलो महल कसरी बनाए भनेर धेरैले शंका गर्न सक्छन् । अख्तियारमा समेत उनीविरुद्ध उजुरी परेकै हो । तर, कार्की प्रशस्त पुख्र्यौली सम्पत्ति भएका सामन्तका छोरा हुन् । उनका पिता स्व. भूपालमानसिंह कार्की धनकुटाको फलाँटेका ठूलै सामन्त हुन् । नेपालको राजनीतिक र प्रशासनिक इतिहासमा भूपालमानका बेग्लै किस्साहरु छन् । सुनसरीको दुहबीमा आफ्नै निजी सम्पत्ति खर्च गरेर भूपालमानको मूर्ति ठड्याइनुले पनि यसलाई पुष्टि गर्छ । सुनसरी र मोरंगमा समेत धेरै जग्गा जमीन जोडेका कार्कीलाई राजाले त्यसै पत्याएका थिएनन् ।
तत्कालीन राजाबाट हुकुम प्रमाङ्गी पाएर निजामति सेवामा छिरेका पूर्वमुख्यसचिव कार्की अहिले एमाओवादी अध्यक्ष प्रचण्डको जोडबलमा अख्तियार प्रमुख बन्न लागेका हुन् । फरक यत्ति हो, पहिले उनले राजाको हुकुम प्रमाङ्गीबाट जागिर खाएका थिए, अहिले एमाओवादीको नयाँ शैलीको क्रान्तिकारी ‘हुकुम प्रमाङ्गी’बाट खान लागेका छन् । लोकमानसिंहका बारेमा एकजना एमाओवादी पूर्वसभासद्को प्रतिक्रिया यस्तो छ- ‘मुख्यसचिवबाट रिटायर्ड भए पनि उनी अझै युवाजस्ता देखिन्छन्, उनमा युवा जोश छ । कार्कीले भन्ने गरेका छन्, अरु सबैलाई हेरिसकियो, नेता हुने विशेषताचाँहि प्रचण्ड र बाबुरामसँग मात्रै देखियो तर प्रचण्ड र बाबुरामले सबैलाई मिलाएर लान सक्नुपर्छ ।’
एमाओवादीबाट प्रशंसा पाएका कार्कीलाई जनआन्दोलन ०६२/०६३ को जनआन्दोलनपछि गठित रायमाझी आयोगले दोषी ठहर गरेको र अख्तियारले समेत भविश्यमा सरकारी सेवाका लागि अयोग्य घोषणा गरेको भन्दै एमाले नेताहरुले कार्कीको नियुक्ति रोक्ने अभियान शुरु गरेका छन् । स्वयं राष्ट्रपति कार्कीलाई अख्तियारप्रमुख बनाउन अनिच्छुक रहेको चर्चा छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments