सिंहदरबार छाडे पनि बाबुरामलाई छाडेन मुद्दाले
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
६ चैत, काठमाडौं । डा. बाबुराम भट्टराईले सिंहदरबार र बालुवाटार छाडे पनि उहाँलाई मुद्दा-मामिलाले भने अझै छाडेन । डा. संगीता भण्डारीले भट्टराईविरुद्ध गत फागुन १ मा दायर रिटमाथि मंगलबारमात्रै सर्वोच्च अदालतमा सुनुवाइ भयो । उता मधेसी नेता जेपी गुप्ताले बाबुरामविरुद्ध हालेको मुद्दा चाहिँ न्यायाधीश सुशीला कार्कीले अझै हेर्न भ्याउनुभएन ।
सरकारले गरेका काममा चित्त नबुझेर सर्वोच्च अदालतमा दिनहुँजस्तो कुनै न कुनै उजुरी पर्नु स्वाभाविकै भए पनि प्रधानमन्त्री र मन्त्री पद खुस्किनेवित्तिकै मुद्दाले भने स्वतः छाड्दैन । यसैक्रममा मंगलबार न्यायाधीश कल्याण श्रेष्ठ र गिरीशचन्द्र लालको संयुक्त इजलासले पाटन अस्पताल प्रकरणमा डा. संगीता भण्डारीले भट्टराईविरुद्ध हालेको मुद्दामाथि सुनुवाइ भयो । आफूलाई जवर्जस्ती हटाइएको भन्दै डा. भण्डारीले उत्प्रेषण्को आदेशद्वारा अस्पतालमा पुनस्थापित हुने माग गरेकोमा अदालतले ‘अन्तरिम आदेश जारी नहुने’ निर्णय सुनाएको छ ।
यता मधेसी नेता जेपी गुप्ताले गत फागुन २२ गते बाबुराम भट्टराईविरुद्ध हालेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेशी पनि मंगलबारै तोकिएको थियो । न्यायाधीश सुशीला कार्कीको एकल इजलासमा ८ औं नम्बरमा परेको यो मुद्दा कार्कीले हेर्न भ्याउनुभएन । रोचक त के छ भने जेपीलाई जेल पठाउने मुद्दाको सुनुवाइ पनि कार्कीले नै गर्नुभएको थियो । त्यसबेला जेपीले कार्की र आफूवीच पुरानो रिसइबी भएकाले आफू पूर्वाग्रहमा परेको टिप्पणी गर्नुभएको थियो । तर, मंगलबार भने कार्कीले गुप्ता र भट्टराईको मुद्दा हेर्नै परेन ।
त्यसो त प्रधानमन्त्रीबाटै विदा भैसकेका व्यक्तिलाई विपक्षी बनाई अदालतमा मुद्दा चलिरहनु पनि अर्को रोचक पक्ष हो । अदालतको निर्णय प्रधानमन्त्री भट्टराईले कार्यान्वयन नगरेर अदालतको अवहेलना गरेको भन्ने प्रश्न उहाँ प्रधानमन्त्री नै नभएपछि स्वतः औचित्यहीन देखन्छि । तर, अदालत विधिका आधारमा चल्ने भएकाले बाबुरामले सिंहदरबार छाडे पनि मुद्दाले भने छाड्ने स्थिति छैन । डा. भट्टराईको नाम नतोकी प्रधानमन्त्रीको कार्यालय र नेपाल सरकारविरुद्ध परेका मुद्दाहरुको सूचि भने निकै लामो छ ।
डा. बाबुराम भट्टराईलाई जस्तै निवर्तमान शिक्षामन्त्री दीनानाथ शर्माविरुद्ध पनि अवहेलनासम्बन्धी मुद्दा परेको थियो । मंगलबार सुशीला कार्कीको एकल बेञ्चले शर्माको मुद्दामा अन्तिम आदेश दिएको छ ।
राष्ट्रपतिलाई पनि मुद्दै मुद्दा
त्यस्तै राष्ट्रपति डा. रामवरण यादवविरुद्ध पनि अदालतमा मुद्दाहरुको लामै सूचि छ । मंगलबारमात्रै सर्वोच्चमा राष्ट्रपतिलाई विपक्षी बनाइएका ४ वटा मुद्दा पेशीमा चढेका थिए । न्यायाधीश कार्कीकै बेञ्चमा परेका यी चारवटै मुद्दा मंगलबार ‘हेर्न नभ्याइने’ सूचिमा चढे ।
अब रेग्मीको पालो
अदालत छाडेर सिंहदरबार सर्नुभएका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको पनि पीडा उस्तै छ । निवर्तमान प्रधानमन्त्री डा. भट्टराईले एउटा सार्वजनिक कार्यक्रममा गुनासो पोख्नुभएको थियो-’जिन्दगीमा कहिल्यै तारेख नधाएको मान्छेले अदालतमा उभिएर जवाफ दिनुपर्यो ।’ शायद रेग्मीको स्थिति पनि अहिले यस्तै भएको छ । कलिलो उमेरमै न्याय सेवामा प्रवेश गर्नुभएका रेग्मीले पनि जीवनमा सायदै कुनै मुद्दाको जवाफ दिनुपरेको वा तारेख खेप्नुपरेको थियो । तर, उहाँले सिंहदरबार छाडे पनि मुद्दाले तत्कालै छाडिहाल्नेमा ढुक्क हुने अवस्था देखिन्न ।
रेग्मीविरुद्ध अधिवक्ता सुनीलरञ्जन सिंहले दायर गरेको मुद्दा पनि मंगलबार न्यायाधीश सुशीला कार्कीकै बेञ्चमा पारिएको थियो । तर, कार्कीले रामबरण, बाबुराम र खिलराज कसैको पनि मुद्दा हेर्नुभएन ।
अदालतमाथि प्रश्न
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments