निर्वाचनका लागि बजेट अभाव हुन्न : अर्थमन्त्री कोइराला
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
६ चैत, काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आगामी संविधानसभाको निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।अर्थ मन्त्रालयमा पदबहाली गरेपछि मंगलवार पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले मुलुकको आर्थिक वृद्धिदर बढाउने आफ्नो मूल उद्देश्य हुने जानकारी दिनुभयो । पुरक बजेटको तयारीमा मन्त्रालय लागिसकेको जानकारी दिँदै उहाँले आगामी आर्थिक वर्षको बजेट बनाउने गृहकार्य पनि प्रारम्भ भइसकेको बताउनुभयो ।
निजी क्षेत्रको सहकार्यमा लगानीमैत्री वातावरण बनाउने र त्यसमा सम्बद्ध सबै पक्षबाट सक्रिय सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । पदबहालीका लागि मन्त्रालय पुग्नुभएका मन्त्री कोइरालालाई अर्थसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरहरू, मन्त्रालय मातहतका विभागीय प्रमुखहरू र अरु कर्मचारीले स्वागत गर्नुभएको थियो ।यसैगरी नवनियुक्त कृषि विकास र वन तथा भू-संरक्षणमन्त्री टेकबहादुर थापाघर्तीले कृषि विकास मन्त्रालयमा आज पदबहाली गर्नुभयो ।त्यसअवसरमा मन्त्री घर्तीले अहिलेको जटिल राजनीतिक परिस्थितिमा कर्मचारीहरूले नयाँ ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै महिला, बालबालिका तथा समाजकल्याण, भूमिसुधार तथा व्यवस्था मन्त्रीको कार्यभार सम्हाल्नु पाउनुभएकी ऋद्धिबाबा प्रधानले आज पदबहाली गर्नुभयो । सो अवसरमा मन्त्री प्रधानले सङ्क्षिप्त कुरा गर्दै संविधानसभाको निर्वाचन गराउने मूल उद्देश्यअनुरुप आफू नियुक्त भएको उल्लेख गर्दै विद्यमान नियम कानुनको परिधिमा रही जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।उहाँले प्राचीन इतिहास र संस्कृतिमा त्रिभुवन विश्वविद्यालयबाट १९६५ मा एमएसम्मको अध्ययन गर्नुभएको छ ।सहायक अनुसन्धानकर्ताका रुपमा निजामती सेवामा प्रवेश गर्नुभएकी मन्त्री प्रधानले राष्ट्रिय अभिलेखालयको महानिर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवका हैसियतमा कार्यरत रही अनुभव हासिल गर्नुभएको छ । रासस
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments