Widgets

माओवादीले ३० वर्ष सरकार चलाउनुपर्छः प्रधानमन्त्री

Unknown | 15:43 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२४ माघ हेटौडा । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्तिमा २० देखि ३० वर्षम्म देशको जिम्मेवारी एमाओवादीले लिनुपर्ने गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । हेटौडामा शनिबारदेखि जारी महाधिवेशनको बन्दशत्रलाई बुधबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।


पार्टीले तल र माथि दुबैतिरबाट हस्तक्षेप गर्ने नयाँ नीति लिएकाले यसका लागि सरकारमा उपस्थिति अनिवार्य हुने उहाँको भनाइ थियो । आफूले सरकार छाडेको भए यतिबेला हेग पुगिने बताउनुभएको छ । ‘यो सरकार नरहेको भए हामी हेग पुगिसकेका हुन्थ्यौं, कमसेकम यो सरकारले प्रतिक्रान्ति रोकेको छ ।’ एमाओवादीका उपाध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री भट्टराईले कस्तो चमत्कारले सरकार टिकिराखेको छ भन्ने आफूलाई समेत थाहा नभएको बताउनुभयो । उहाँले उचित विकल्प नभई सरकार छाड्न नहुने बताउनुभयो ।‘तल र माथिबाट हस्तक्षेप गर्नका लागि सरकार चाहिन्छ । तर, जति राम्रो काम गर्न खोजे पनि अदालतले दिएन ।’ प्रधानमन्त्रीले बन्दशत्रमा भन्नुभयो,-’जीवनमा कहिल्यै मुद्दा नखेपेको मान्छे, दैलेखका कार्यकर्तालाई बचाउन खोज्दा ३ पटकसम्म अदालत जानुपर्यो, फेरि पनि बोलाएका छन् ।’ सरकारले कार्यकर्तालाई सहयोग र उचित संरक्षण गर्न नसकेको उहाँले स्वीकार्नुभयो । जनयुद्धयुद्धकालीन मुद्दाबारे सत्य निरुपण आयोग बनाउने प्रयास गरे पनि राष्ट्रपतिले नदिएको उहाँले बताउनुभयो ।

भारतसँग गरिएको बिप्पा सम्झौतालाई बचाऊ गर्दै भट्टराईले बिप्पा सम्झौतालाई आवश्यकता बताउनुभयो । क्युवालगायतका मुलुकले पनि बिप्पा सम्झौता गरेको भन्दै उहाँले विदेशी लगानी नभित्र्याई औद्योगिक क्रान्ति हुन नसक्ने दाबी गर्नुभयो । नारायणकाजीले आफूचाहिँ राष्ट्रवादी र सोही पार्टीका कोही नेता राष्ट्रयताविरोधी र दलाल हुन् भन्ने ढंगले प्रचार गरेको भन्दै प्रधानमन्त्रीले आपत्तिसमेत जनाउनुभयो ।

करिब डेढ घण्टा बोल्नुभएका भट्टराईले प्रचण्ड र आफूवीच खेल्न खोजिएको तर, आफूले कहिल्यै प्रचण्डको विकल्प नखोजेको बताउनुभयो । लाबाङ बैठकमा आफूमाथि कारबाही हुँदासमेत आफूले प्रचण्डको नेतृत्वलाई चुनौती नदिएको बताउनुभयो । पार्टीभित्र र बाहिर प्रचण्डको विरुद्धमा आफूलाई उभ्याउने प्रयत्न हुँदै आएको उहाँको गुनासो थियो । ‘मैले प्रचण्डको नेतृत्वलाई कसैलाई चुनौती दिएको छैन, लाबाङमा आफूमाथि कारवाही हुँदा पनि उहाँलाईर् मैले चुनौती दिएको होइन । मेरो भनाइ यतिमात्रै हो, सामुहिक नेतृत्वको अभ्यास हुनुपर्छ ।’ भट्टराईको भनाइ थियो, ‘प्रचण्डको म विकल्प होइन, तर, नेतृत्वको सामुहिक श्रृखला बनाइनुपर्छ ।’

धोवीघाटमा आफूलाई वैद्य पक्षले उकासेको उहाँले आरोप लगाउनुभयो । कार्यकर्ताहरुले धोबीघाटको विषयमा प्रश्न उठाइरहेका बेला भट्टराईले धोबिघाट प्रकरणमा आफूलाई वैद्य पक्षले उचालेको तर, आफुले उनीहरुलाई अस्वीकार गरेको बताउनुभयो । धोबिघाटमा वैद्यपक्षले प्रचण्डलाई हटाउन प्रस्ताव गरेको भए पनि आफूले नमानेको उहाँले बताउनुभयो । ‘धोबीघाटको विषयलाई दस्तावेजमा उल्लेख गर्ने हो भने हामी यस्ता धेरै वटा घाटहरुको पानी पिएर यहाँसम्म आएका छौं, दस्तावेजमा ती सबै घाटहरुको उल्लेख हुनुपर्छ ।’- प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै स्रोतले अनलाइनखबरलाई भन्यो ।

बन्दशत्रमा सबै टोली नेताहरुले बोलिसकेपछि महाधिवेशनमा फरक मत राखेका गोपाल किराती -साइँला), लेखराज भट्ट र राम कार्की (पार्थ) ले सम्बोधन गरे । कतिपय कार्यकर्ताहरुले भट्टलाई संघीयता विरोधी, किरातीलाई जातिवादी र कार्कीलाई महत्वाकांक्षी भन्दै आलोचना गरेपछि बुधबार साँझ तीनैजना नेताले आफ्नो मतबारे प्रष्टीकरण दिएका हुन् । कार्यकर्ताले धारणा राख्ने क्रमकै वीच-वीचमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री डा. बाबुराम भट्टराईका साथै फरक मत प्रस्तोता गोपाल किराती, लेखराज भट्ट र राम कार्की समेतले सम्बोधन गर्नुभएको थियो ।

मंगलबार बिहानै बन्दशत्रमा बोलेका उपाध्यक्ष नारायणकाजीले दिउँसो पत्रकार सम्मेलन गरेपछि बुधबार दिनभरि उहाँको चर्को आलोचना भयो । त्यसपछि बेलुका श्रेष्ठले पुनः २० मीनेट समय मागेर स्पष्टीकरण दिनुपरेको थियो । स्पष्टीकरण दिनेक्रममा उपाध्यक्ष श्रेष्ठले प्रचण्डसँग आफ्नो भित्री सहमति भएको दाबी गर्नुभएको थियो ।

मैले पत्रकार सम्मेलन गरेकै छैन- काजी

महाधिवेशन चलिरहेका बेला बाहिर गएर मंगलबार पत्रकार सम्मेलन गरेको भन्दै बुधबार हलमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठको चर्को आलोचना भएपछि उहाँले बुधबार साँझ बन्दशत्रमा स्पष्टीकरण दिनुभयो ।

स्पष्टीकरणका क्रममा श्रेष्ठले आफूले पत्रकार सम्मेलन गरेको भन्ने प्रचार झुठो रहेको दाबी गर्नुभयो । उहाँको भनाइ थियो- ‘पत्रकार सम्मेलन गरेको भन्ने आरोप झुठो हो । सूचना केन्द्र छ भन्ने सुनेर हेर्न गएको थिएँ, पत्रकारले जबर्जस्ती दबाबमा बोल्न लगाए । मैले डेकेन्द्र थापाका हत्यारालाई कारवाही हुनुपर्छ भनेको थिइँन ।’

तर, सहभागीहरुले श्रेष्ठको स्पष्टीकरणमा चित्त बुझाएका छैनन् । उनीहरुले एक घण्टा पत्रकार सम्मेलनमा बोलेको अडियो र भिडयोसमेत देखाउन सक्ने भन्दै अध्यक्षमण्डलमा उजुरी दिएको स्रोत बताउँछ ।

‘प्रतिनिधिले श्रेष्ठविरुद्ध चिट लेखेर अध्यक्ष मण्डललाई दिएका छन्, उनीमाथि कारवाही हुनुपर्ने माग गरिएको छ ।’- बन्दशत्रमा सहभागी एक प्रतिनिधिले अनलाइनखबरसँग भने । महाधिवेशनको कार्यविधिमा हल्ला गर्ने र हुज्जत गर्नेलाई स्पष्टीकरण सोधिने र महाधिवेशनबाटै निकालिने कडा व्यवस्था भएकाले मौखिक बोल्न नपाए पनि लेखेर श्रेष्ठमाथि कार्यकर्ताले विरोध जनाएको स्रोतले बतायो । श्रेष्ठले मंगलबार करिब एक घण्टा पत्रकार सम्मेलन गरी बिप्पा सम्झौताको विरोधमा बोल्नुभएको थियो ।

प्रचण्डसँग भित्री सहमति भएको दाबी

बन्दशत्रमा प्रस्तुत हुने क्रममा उपाध्यक्ष श्रेष्ठले केन्द्रीय समितिले समाधान नगरेका विवादका विषय पछि बस्ने केन्द्रीय बैठकले समाधान गर्ने भनी आफूले बोलेको कुरा पार्टी अध्यक्ष प्रचण्डसँग भएको सहमतिका आधारमा व्यक्त गरेको बताउनुभयो । कार्यकर्ताले भने श्रेष्ठको यो भनाइले महाधिवेशनको सर्वोच्चतामाथि प्रश्न चिन्ह खडा गरेको आरोप लगाएका छन् । ‘म त आफूले उठाएका प्रश्नहरु यही महाधिवेशनले समाधान गरोस् भन्ने चाहन्छु, तर यसले गर्दैन भने पछि बस्ने केन्द्रीय समितिले हल गर्ने कार्यालयमा भएको सहमति अनुसार मैले बोलेको हो ।’-श्रेष्ठको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो ।

सक्नुहुन्छ भने मलाई हलबाट निकाल्नोस् – किराती

महाधिवेशनमा बाहुनवादको विरोध गर्दै राज्य कम्युनिष्ट पार्टीको अवधारणासहित फरक मत राखेका गोपाल किराती -साइँला)ले आक्रोशित हुँदै आफूलाई महाधिवेशन हलबाट बाहिर निकाल्न कार्यकर्ताहरुलाई चुनौती दिनुभयो । ‘म १० वर्षदेखि यो पार्टीमा छु । तर, हाम्रो पार्टीमा जनजाति देख्नेवित्तिकै जातिवादी आरोप लगाउने सामन्ती संस्कार छ, मलाई जातिवादी प्रमाणित गर्नु सक्नुहुन्छ भने यो हलबाट बाहिर निकाल्नोस्, सक्नुहन्छ ?’ किरातीले भन्नुभयो-’उत्पीडित जनजातिले अधिकार पाउनुपर्छ भनेर माक्र्स, लेनिन र माओले भनेका हुन्, मैले भनेको होइन । जनजाति देख्नेवित्तिकै जातिवादी देख्ने ? मैले हाम्रो पार्टीकै सिद्धान्त वरिपरि रहेर बोलेको हो ।’

म छाड्दिँन- भट्ट

बन्दशत्रमा आफ्नो फरक मतबारे बोल्दै अर्का नेता लेखराज भट्टले पार्टीले पिछडिएको कर्णाली प्रदेशलाई स्वायत्त अधिकार दिने भनेकाले आफूले खसान प्रदेशको माग गर्नु पार्टी नीति विपरीत नभएको जिकिर गर्नुभयो । ‘कर्णाली छुट्टै प्रदेश हुनुपर्छ भन्ने मेरो माग हो । कर्णालीका खसहरु शासक जाति होइनन्, उनीहरु उत्पीडित हुन् । एकातिर कणर्ालीलाई उत्पीडित क्षेत्र भन्ने, अनि म कसरी पहिचान र संघीयता विराधी भएँ ?’ भट्टले बन्दशत्रमा भन्नुभयो- ‘मैले आफ्नो मत राख्दा धम्कीसमेत दिइयो, तर म अन्तिमसम्म लड्छु, म छाड्दिँन । ‘

प्रचण्डलाई आलोचनात्मक समर्थन गरेको हुँ -कार्की

फरक मत प्रस्तुत गर्ने अर्का नेता राम कार्कीले आफूले प्रचण्डको दस्तावेजलाई चुनौती दिएको नभई दस्तावेजलाई सम्वृद्ध पार्न आलोचनात्मक समर्थन गरेको भन्दै अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको चर्चा गर्नुभयो । स्टालिनको मात्र नभएर लेनिनका कमजोरीसमेत उठाउनुपर्ने र लेनिनवादी संगठनात्मक सिद्धान्तको पुनर्मूल्याङ्कन गर्नुपर्ने कार्कीको आग्रह थियो । अध्यक्षको दस्तावेजमा चुनौतीहरु रहेको तर, उहाँले साहस गरेको कार्कीको भनाइ थियो ।

दस्तावेजमाथि छलफल सकियो

शनिबारदेखि महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथिको समुहगत छलफल बुधबार साँझ सकिएको छ । बिहीबार बिहान प्रचण्डले कार्यकर्ताबाट उठेका प्रश्नहरुको जवाफ दिएपछि दस्तावेजमाथि अन्तिम टुंगो लाग्ने प्रवक्ता अग्नि सापकोटाले बताउनुभएको छ । मंगलबार र बुधबार दुई दिन लगाएर ६१ समूह र २ उपसमूह गरी ६३ टोलीका नेताले बन्दशत्रमा आफ्ना धारणाहरु राखेका छन् । मंगलबार ४० प्रतिनिधिले बन्दशत्रमा धारणा राखेका थिए भने बुधबार १० जनाले बोलिसकेपछि हावाले हल भत्काउँदा ३ घण्टा कार्यक्रम प्रभावित भएको थियो । हुरीले भत्काएको हल मर्मत गरिसकेपछि बुधबार बेलुका बाँकी १३ जना प्रतिनिधिले बोलेका थिए । बुधबार बोल्ने समुह नेताहरुमा बलराम थापा, सूर्यप्रकाश शर्मा, सुष्मा शर्मा, भोला सापकोटा, रामकृष्ण शर्मा, ओके दहाल, कोमल बराल, सुनिताकुमारी गौतम, सरल सहयात्री र सल्लाहकारका तर्फबाट चण्डेश्वर श्रेष्ठ थिए । त्यस्तै ६१नम्बर समूह र उपसमूहबाट शिव डाँगी, नहेन्द्र खड्का र हिरानाथ खतिवडाले बोलेका थिए ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS