Widgets

आत्मबलमा बाँचेका एकल महिलाहरु

Unknown | 15:44 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२४ माघ, काठमाडौं । ‘विधवा’ भन्ने शब्दले अझै पनि महिलालाई वाणले जस्तो घोच्छ । कसैले पनि यो शब्द सुन्न चाहँदैनन् । तर विवशताले कतिलाई विधवा बनाइदिन्छ । सुन्न नसक्ने त्यो अवस्था आफैंले झेल्नुपरेपछि कस्तो पीडा हुँदो हो, त्यो त भोग्नेलाई मात्र थाहा छ ।


विधवा भएर यस्तै पीडामा झेल्नुपरेका महिलाहरु संगठित हुन थालेपछि उनीहरुको जीवनमा परिवर्तन आउन थालेको छ । २०५२ सालमा स्थापना भएको मानवअधिकारको लागि महिला, एकल समूहले पीडा भोग्न बाध्य महिलाहरुको सशक्तिकरणमा काम गर्दै आएको छ । अहिलेसम्म देशभर ८४ हजारभन्दा बढी महिलाहरु संगठित भैसकेको संस्थाले जनाएको छ ।संस्थाले हालै राजधानीमा अन्तर्राष्ट्रिय सम्मेलन गर्यो । सम्मेलनमा बिभिन्न १६ देशका प्रतिनिधिसँगै देशका बिभिन्न ठाउँबाट एकल महिलाहरु पनि सहभागी थिए । आफ्नो हकअधिकारका विषयमा छलफल गर्न भेला भएका यिनै महिला प्रतिनिधिहरुसँग अनलाइनखबरले उनीहरुका संर्घषबारे सोधीखोजी गरेको छ ।
सगोलमा खान पनि दिइएन
-सृजना श्रेष्ठ सिंह, कीर्तिपुर
म एकल भएको १० वर्ष भयो । त्योबेला म २६ वर्षको मात्रै थिएँ । मेरो श्रीमान द्वन्द्वकालमा मारिनुभएको हो । पहिले त हाम्रो सामाजिक संरचना नै ठीक थिएन । त्यसपछि मलाई त्यो सामाजिक संरचनाले बाँध्यो । श्रीमान मर्नुको पछाडि श्रीमतीको हात हुन्छ भन्ने कुरीतिले मलाई पनि पीडा थप्यो । कुनै पनि श्रीमती श्रीमान मरोस् र आफू छिटै बिधवा हुन परोस् भनेर कहिल्यै पनि चाहँदैन । तर हाम्रो समाजले श्रीमान मर्नुको पछाडि श्रीमतीको हात हो भन्छ ।
मेरो कुरा गर्दा श्रीमानको मृत्युपछि मलाई खान पनि सगोलमा नदिने काम भयो परिवारबाटै । म मात्रै होइन, मेरो साथमा रहेका दुई बच्चा पनि भोकै रहनुपर्ने बाध्यता थियो । त्यसपछि म एकल महिला समूहमा आवद्ध भएँ । सामाजिक संरचनाभित्रका समस्या बुझ्दै गएँ । र मनोबल बढ्दै गयो । परिवार र समाजलाई पनि सही कुरा बुझाउन सकें ।
अहिले पहिलेको भन्दा निकै परिवर्तन भएको छ । पहिले सही कुरा भन्दा पनि सुन्दैनथिए । अहिले चाहिँ केही काम गर्नुभन्दा पहिले मलाई पनि सोधपुछ गर्छन् । परिवार मात्र होइन, अहिले म काठमाडौं जिल्लाको एकल महिलाको अध्यक्ष भएर पुरै समाज र जिल्लामै परिवर्तन ल्याउने कोशिशमा लागेकी छु ।
आत्मबल बढेको छ
-टीकेश्वरी हमाल, अध्यक्ष एकल महिला सुदूरपश्चिम क्षेत्रीय सञ्जाल अध्यक्ष
मेरो घर कैलाली धनगढीमा पर्छ । मेरो उमेर ४८ वर्ष भयो । २०६१ सालमा मेरो श्रीमानको निधन भयो । त्यतिबेला एकल हुने बित्तिकै मेरो यही नै अन्तिम अवस्था हो जस्तो लाग्थ्यो । जीवन नै सकियो जस्तो लाग्थ्यो । त्यतिबेला समाजको व्यवहार हेर्दा त निकै दुःखलाग्दो थियो । आफूले रोजेको लुगा लगाउन नपाउने, सेतो लगाउनुपथ्र्यो । कसैले शुभकार्य गर्न लागेको छ भने त्यहाँ जान बन्देज थियो । गएमा उनीहरुले के भन्लान् जस्तो लाग्ने भएर जान सकिँदैनथियो । समाजले भनोस् कि नभनोस्, पहिले नै आफ्नो आत्माले यो त गर्न हुँदैन, म त बिधवा पो जस्तो लाग्थ्यो ।
परिवारबाट समस्या थिएन । किनकी सासुससुरा हुनुहुन्नथियो । श्रीमानको मृत्युपछि म नै घरको मूली भएँ । तर छरछिमेकीबाट डर लाग्ने । अहिले त परिवर्तन भएको छ ।
एकल महिला समूहमा लागेर शुरुमा हामीले रातो लगाउने अभियान थाल्यौं । रातो लगाउँदा समाजले अनौठो मान्यो । कसरी परिवर्तन भयो एक्कासी भन्ने उनीहरुलाई भयो । तपाईंको उमेर रातो टीका लगाउने खालको थियो र, किन लगाउनुभएको भनेर पनि भने । मलाई रहर लाग्यो लगाएँ भनेर जवाफ दिन्थें ।
अहिले मलाई समाजले कस्तो रुपमा हेर्छ भन्दा पनि म चाहिँ परिवर्तन भएको छु भनेर हेर्ने गरेको छु । मलाई आत्मबल बढेको छ । म एकल हो, समाजले के भन्छ भनेर डर लाग्दैन । म एकल भएर के भयो त, म मानव भएकाले सबै अधिकार पाउनुपर्छ भन्ने मात्र लाग्छ । अहिले मेरो आत्मबल बढेको छ ।
 रातो लगाउन थालेपछि सन्तुष्ट
-शशीदेवी भट्ट, काठमाडौं धर्मस्थली :
म अहिले ३८ वर्षकी भएँ । चार वर्षदेखि म एकल भएकी छु । त्योबेला मेरो अवस्था निकै नाजुक थियो । परिवार र समाजले हेर्ने दृष्टिकोण नै अर्कै थियो । कतै गयो भने, कसैसित गयो भने आक्षेप लगाइने गरिन्थ्यो ।
अहिले त पहिलेको भन्दा धेरै परिवर्तन आएको छ । अहिले नि भन्न त भन्छन् । तर एकल महिला समूहमा लागेको रहेछ, यसरी काम गरेर हिँड्दीरहेछ भन्छन् ।
पहिले जस्तो अहिले म सेतो कपडा लगाउँदिन । आफूलाई मन परेको लगाउँछु । पहिले यसो गर्न सकिँदैनथियो । थोरै रातो मिसिएको कपडा पनि लगाउन नपाइने, रातो टीका लगाउन नपाउने थियो ।
अहिले समूहमा लागेपछि रातो लगाउने अभियान नै चल्यो । रातो लगाउन थालेपछि सन्तुष्ट छु । सबै कुराको आनन्द भएको छ । रातो लगाउन थालेपछि सुखी छु, म एकल छैन जस्तो लाग्दोरहेछ ।
अनुहार हेर्दा साइत पर्दैन भने
-सीता श्रेष्ठ, अध्यक्ष एकल महिला समूह नवलपरासी :
मेरो घर जिल्ला सदरमुकाम परासीमै पर्छ । मेरो उमेर ५१ वर्ष भयो । श्रीमान बित्नुभएको त २० वर्ष भैसक्यो । त्यतिबेलाको अवस्था त निकै दर्दनाक थियो । त्यो क्षण र पीडा कहिल्यै पनि भुल्न सकिँदैन ।
श्रीमान हुँदा घरबाट लक्षिणको बुहारी भनेर निकै सम्मान गरिन्थ्यो । हाम्रो अनुहार नहेरी बाहिर हिँड्न हुँदैन भन्ने गर्नुहुन्थ्यो । तर श्रीमानको मृत्यु लगत्तै अर्कै नजरले हेर्न थालियो । यसको अनुहार हेरेर कतै काममा गयो भने साइत पर्दैन भनेर र्फकनेसम्म पनि भयो । त्यो क्षण सम्झँदा निकै दुःख लाग्छ ।
अहिले संगठित भएर आफूजस्तै दिदीबहिनीहरुसँग हिँड्दा आत्मबल बढ्न थालेको छ । अरु दिदीबहिनीहरुलाई यस्तो अवस्था आउन नदिन आफू पनि लागेको छु । रोएर मात्रै समस्या समाधान हुँदैन । आफू भित्रैबाट आत्मबल निकाल्न सक्नुपर्छ । आफ्नो लागि नभएर छोराछोरीको लागि पनि बाँच्नुपर्छ ।
२० वर्षअघि हामीलाई एकल भन्ने पनि थाहा थिएन । विधवाको रुपमा नै चिनिन्थ्यो । रातो कपडा र टीका लगाउन हुन्न भन्ने थियो । सेतो लुगा लगाएर बाहिर हिँड्दा अरुले गर्ने व्यवहार र नजर फरक पाइने रैछ । अहिले रातो लगाउन थालेपछि ती सबै पीडा हटेको छ ।
शुरुवात आफैंबाट गर्न पर्ने रैछ । जिल्लामा रहेका हामी एकल महिलाले यसैगरी रातो टीका अभियान थाल्यौं । अहिले हाम्रो जीवनस्तरमा पनि परिवर्तन आएको छ ।
अहिले सरकारले विधवा भत्ता त दिने गरेको छ । तर त्यति मात्रै पर्याप्त होइन । राज्यले हामी र हाम्रो बालबच्चाको लागि आवश्यक सरसहयोग गर्नुपर्छ । हामीलाई रासनकार्डको व्यवस्था होस् । यातायात र स्वास्थ्य सेवामा सहुलियत होस् भन्ने सरकारसँग माग गर्न चाहन्छौं ।
फेरि त्यो दिन सम्झन्न चाहन्न
-यामकुमारी ढकाल, अध्यक्ष एकल महिला समूह दाङ :
मेरो श्रीमान बितेको २० वर्ष भैसक्यो । एकल भएको ५ वर्षसम्म त मैले सेतो नै लगाएँ । त्योबेला कति दुःख र पीडा भोग्नुपर्यो त्यो अहिले सम्झन पनि चाहन्न । अहिले हामी परिवर्तनको संवाहककेा रुपमा अघि बढिरहेको अवस्था छ । पहिले एकल हुँदा र अहिलेको अवस्थासम्म आइपुग्दाको फरक त केही नहोला । तर अहिले आशा निकै पलाएको छ ।
मान्छेलाई बाँच्नको लागि सबैभन्दा ठूलो अधिकारको चाहिने रहेछ । गास, बास, कपास, स्वास्थ्य, शिक्षा लगायतका आधारभूत अधिकार प्राप्त भयो भने महिलाहरु आत्मनिर्भर हुन्छन् । आत्मनिर्भर भएपछि उनीहरुले आफ्नै ढंगले केही गर्न सक्छन् ।
ग्रामिण भेगमा जाने हो भने अझै पनि परिवर्तन भएको अवस्था छैन । तैपनि केही त परिवर्तन भएको छ । एकल महिलाहरुले आफ्नो हक, अधिकारको आवाज उठाइसकेका छन् । एकल महिलालाई हेलाहोचो गर्दा कसैले केही भन्लान् कि भनेर सचेत हुनेहरु पनि छन् । जे होस् पहिलेको भन्दा अहिले अवस्थामा परिवर्तन आएको छ ।
एकल महिलाहरुको लागि सरकार र संघसंस्थाले पनि काम गरेका छन् । तर अझै यसलाई बढाउनुपर्ने खाँचो छ । महिलालाई अझै अधिकारसँगै आत्मनिर्भर बनाउन जरुरी छ । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर दिनुपर्ने खाँचो छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS